पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध ३ अर्ब ६२ करोडको मुद्दा

काठमाडौं ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आर्थिक अनियमितता गरेको आरोपमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिई राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पुर्‍याइएको निष्कर्षसहित विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार आयोगले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसँगै पूर्वअर्थसचिव शंकर प्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य, दुण्डुराज घिमिरे र केवल भण्डारीलाई विपक्षी बनाइएको छ। त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारीमाथि पनि भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाइएको छ।

अख्तियारले उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी र इन्जिनियर योगेश अर्याललाई समेत प्रतिवादी बनाएको छ। निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ, कम्पनीका अध्यक्ष तथा परियोजना व्यवस्थापकविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको अनियमितताको विषयमा अख्तियारले दर्ता गरेको यो तेस्रो ठूलो मुद्दा हो। यस प्रकरणले विकास आयोजनामा हुने नीतिगत तथा प्रक्रियागत भ्रष्टाचारमाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top