पोखरामा कास्की प्रहरीको स्वीप अप्रेसन : थप ६१ जना नियन्त्रणमा

पोखरा, ११ वैशाख ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको विशेष “स्वीप अप्रेसन” अन्तर्गत एकै रातमा थप ६१ जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले लागूऔषध कारोबार तथा सेवन, सार्वजनिक अशान्ति, टोले गुण्डागर्दी तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त अप्रेसन सञ्चालन गरेको जनाएको छ।

प्रहरीका अनुसार २०८३ वैशाख १० गते राति करिब ९ बजेदेखि ११ गते बिहान ६ बजेसम्म पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा संयुक्त रूपमा अप्रेसन चलाइएको थियो। सो क्रममा मोहरियाटोल र गैह्रापाटनबाट १४ जना, लेकसाइड–ड्यामसाइड क्षेत्रबाट २४ जना, बगाले टोल, सभागृह चोक, शिवालय चोक तथा पृथ्वीचोकबाट ८ जना पक्राउ परेका छन्।

त्यस्तै, काँहुडाँडा र रामबजार क्षेत्रबाट २ जना, सराङकोट, लामागाउँ र भलाम क्षेत्रबाट ४ जना तथा सुन्दरबजार, रिठ्ठेपानी, सैनिक बस्ती, खुदीखोला लगायतका क्षेत्रबाट ९ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसअघि सोही दिन पक्राउ परेका १२२ जनामध्ये ८ जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ भने २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा कारबाही प्रक्रिया सुरु गरिएको छ। १५ जनालाई जरिवाना गरी छाडिएको, ७० जनालाई सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको र २ जनालाई थप अनुसन्धानका लागि होल्डमा राखिएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले यस्ता अप्रेसन आगामी दिनमा पनि निरन्तर जारी रहने र शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिमाथि कडा निगरानी राखिने जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top