पोखरा, ०८ वैशाख ।
नेपाली काङ्ग्रेसभित्र देखिएको आन्तरिक विवाद र विशेष महाधिवेशनपछि उत्पन्न राजनीतिक अवस्थाबारे पार्टीका युवा नेताहरूबीच फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। पार्टीका विभिन्न तहका नेताहरूले काङ्ग्रेस अहिले गम्भीर सङ्कट र विभाजनको अवस्थामा पुगेको बताएका छन्। विशेष महाधिवेशनपछि नेतृत्व चयन र त्यसको वैधानिकताबारे विवाद बढ्दै जाँदा काङ्ग्रेसभित्र दुई प्रमुख धार स्पष्ट रूपमा देखिएको छ।
शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। पछिल्लो समयमा सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैध ठहर गरेपछि पार्टीभित्रको कानुनी विवाद टुंगिएको देखिए पनि राजनीतिक विवाद भने अझै कायम रहेको छ। तर देउवा समूहका केही नेताहरूले सर्वोच्चको निर्णय आएपछि पनि विशेष महाधिवेशनलाई पूर्ण रूपमा स्वीकार गर्नेबारे अनिश्चितता व्यक्त गरेका छन्। यसले पार्टीभित्रको आन्तरिक द्विविधा अझै जारी रहेको संकेत गरेको छ।
युवा नेताहरूका अनुसार काङ्ग्रेस लामो समयदेखि गुट–उपगुट र आन्तरिक संघर्षमा फसेको छ, जसले संगठनलाई कमजोर बनाएको छ। उनीहरूका अनुसार विशेष महाधिवेशनले विवाद समाधान गर्नुको सट्टा पार्टीलाई थप दुई ध्रुवमा विभाजित गरेको छ। नेपाली काँग्रेसका युवा नेता सन्तोष पौडेलले भने, “पार्टी अहिले कानुनी रूपमा एक भए पनि राजनीतिक रूपमा विभाजित छ। नेतृत्वबीचको विश्वास कमजोर भएको छ र वैचारिक स्पष्टता हराउँदै गएको छ।”
उनका अनुसार काङ्ग्रेसको हालको प्रमुख समस्या नेतृत्वको अस्पष्टता, वैचारिक विचलन र घोषणापत्र तथा नीतिगत विषयमा कमजोर प्रस्तुति हो। विशेष गरी सङ्घीयता र गणतन्त्रजस्ता मुद्दामा पार्टीको दृष्टिकोण कमजोर रूपमा प्रस्तुत भएको भन्दै आलोचना गरिएको छ। पार्टीभित्र अबको मुख्य चुनौती एकता कायम गर्नु, वैचारिक स्पष्टता ल्याउनु र संगठनलाई पुनः जनतासँग जोड्नु रहेको नेताहरूले बताएका छन्।
बाँकी तल लिङ्कमा